एक पटक अवस्य पढ्नुहोला। छोरीले आफ्नो बाबालाई दिइन् धन्यवाद, भन्छिन् संस्कार पनि सिक्दै छु
छोरीले आफ्नो बाबालाई दिइन् धन्यवाद, भन्छिन् संस्कार पनि सिक्दै छु
डा आस्था रेग्मी, दोलखा जिल्ला अस्पताल २०७३ मङ्सिर १ बुधबार प्रकाशित
डा आस्था रेग्मी, दोलखा जिल्ला अस्पताल २०७३ मङ्सिर १ बुधबार प्रकाशित
कतै पढेको थिँए, खुसी हुनु ठीक कि सुखी हुनु ?
मलाई लाग्छ पक्कै खुसी हुनु ठीक । किनकी तपाई सुखी नभए पनि सन्तुष्ट भए खुसी हुन सक्नुहुन्छ । त्यसैले म दुर्गममा सेवा गर्न पाउँदा खुसी छु । आफ्नो सन्तानलाई अबोध देख्ने एउटा बाबुको मनले आफ्नी छोरी टाढा काम गर्न गएको पक्कै स्विकार गर्दैन होला । तर म दोलखा जाने निर्णय बाबाले सहजै स्विकार गर्नुभएको थियो ।
बाबाले डाक्टर नै बन्न दबाब कहिले दिनुभएन । ठुलो मान्छे बन्नुपर्छ भन्ने सोच भने कालीलो मस्तिष्कमै थियो । जुन बेला डाक्टरनै बन्छु भन्ने लाग्थ्यो, त्यती बेला ठुलो मान्छे बन्ने बाहेक केही उद्धेश्य थिएन । मलाई लाग्थ्यो ठुलो मान्छे बन्न मात्र डाक्टर हुने हो ।
आज डाक्टर बनेर मनन गर्दा लाग्यो खुसी हुन पो डाक्टर बन्नु पर्ने रहेछ । मेरो डाक्टर बन्ने सपना पनि पुरा भएको छ । गाँउबस्तीमा पुगेर सेवा गर्न पाँउदा निकै सन्तुष्ट छु बाबा ।
एमबिबिएस पढ्दा कहिले काँही पढाई छाडौं कि जस्तो लाग्थ्यो । कलेजको माहोल नै यस्तो थियो कि मलाई आफ्नो अस्तित्व खोज्न पनि गाह्रो हुन्थ्यो । कलेजको त्यस्तो माहोललाई पन्छाउँदै मेहनतका साथ पढें । राम्रो नम्बर ल्याएर एमबिबिएस पास गरियो ।
एमबिबिएस भर्ना हुँदा मनमा जुन उत्साह थियो । पढ्दै जाँदा त्यहाँको माहोलले उत्साह पनि कम हुँदै गएको थियो ।
जब इन्टर्नसिप सुरु भयो । बल्ल डाक्टरी पेशाको खास महत्व बुझ्न पाएँ । पेशाप्रती सन्तुष्टी महसुस भयो । तर, पत्रिकामा डाक्टरले पिटाई खाएका समाचार आउँदा डर पनि लाग्थ्यो । जब इन्टर्नसिप सकेर दोलखा आएँ त्यो डर पनि रहेन । दोलखा आउनु मेरो बाध्यता थिएन । सेवा गर्ने रहर मात्र हो ।
बाबा, आज तपाईकि छोरी दोलखामा सेवा गर्दा निकै खुसी छ । चार चक्की औषधिले निको हुने समस्या पनि यहाँका बासिन्दा वषौं पाल्न बाध्य रहेछन् । महिलाहरु पुरुषसँग उपचार गर्न लजाउने रहेछन् । तर आज महिला डाक्टर पाउँदा घण्टौं हिंडेर पनि उपचार गर्न आउन थालेका छन् । तपाई छोरीसँग उपचार गर्न आउनेको कम्ता भिड हुँदैन । मेरो ज्ञानले धेरै मानिसले नयाँ जिवन पाएका छन् । बिरामी सञ्चो हुने आशमा मुस्कुराउँदा कम्ती आनन्द आउदैन बाबा ।
हाम्रो सेवाबाट धेरै बिरामी खुसी छन् । सबै रोग त हामी निको पार्न नसकौंला तर ज्ञानले भ्याएसम्म उपचार गर्न पछि परेका छैनौं बाबा । समयले हामीलाई रोक्न सकेको छैन । बिरामीको मुस्कानले उर्जा थपेको छ । दुर्गममा सेवा गर्नु हो मजा नै बेग्लै । हामीले जोखिम उठाएर भएपनि शल्यक्रिया पनि गरेका छौं । यसले धेरै मानिसको ज्यान जोगाएको छ । चाहेर पनि उपचारका लागि शहर जान नसक्ने बिरामीका लागि हाम्रो सेवा साच्चीकै अमुल्य रहेछ । मैले पेशागत भुमिका मात्र निर्वाह गरे जस्तो महसुस भएको छैन । डाक्टरी त ठुलो सेवा पनि रहेछ । पेशा र सेवा दुबै एकैपटक ।
शहरका ठुला अस्पतालमा इन्टर्न गर्दा डरले हातहरु काम्ने गर्थे । किताब पल्टाएर होस् वा गुरुलाई फोन गरेर होस् उपचार गर्न पछि पर्दैनौं । सानो उपचारका लागि हामीले रिफर गर्दा कतिपय बिरामी रोग पाल्न बाध्य हुनुपर्छ । शहर जान नसक्ने बिरामीका लागि हरसम्भव उपचारको कोशिसमा जुटेका छौं । सोधेर वा पढेर भएपनि उपचार गर्दा मलाई कसले के भन्ला भन्दा पनि मैले उपचार नगरे बिरामीको आत्माले के भन्ला भन्ने महशुस हुन्छ । शहरमा त घडीको सुई हेरेर उपचार गर्ने बानी थियो । यहाँ त बिरामीका कथा सुन्दा दिन बितेको पत्तो हुँदैन । रुघाखोकी लाग्दा पनि बिरामी घण्टौं हिँडेर इमर्जेन्सीमा आउँछन् । उनीहरुको सानो समस्याको पनि उपचार गर्न पाँउदाको सन्तुष्टी नै बेग्लै ।
कतिपय बिरामीहरु त घरमा सानो पुजापाठ हुँदा पनि निम्ता दिएर जानुहुन्छ । शहरमा त धन्यवाद भन्न पनि गाहे मान्ने । एकपटक एउटी ८० बर्ष कि आमा ले आफ्नो घरमा नातिको पास्नीमा आउने निम्तो दिएर जानु भयो । उहाँको त्यो निमन्त्रणाले मलाई झन् जिम्मेवार र उर्जावान बनायो ।
कति उदार छ यहाँका मानिसको मन । म पनि दोलखाका मानिस जस्तै उदार बन्न सिक्दैछु बाबा । मैले यहाँ उपचारमा दक्ष बन्न मात्र होइन संस्कार पनि सिक्न पाएकी छु । आफ्नो पेशाको सम्मानबोध भएको छ । बाबाले सानोमा ठुलो मान्छे बन्नु पर्छ भनेको सम्झने गरेको छु । आज बाबाले भनेजस्तै ठुलो मान्छे भएको महशुस भएको छ । यो मेरो घमन्ड हैन ,आफ्नो पेशाले दिएको आत्मसन्तुष्टी हो।
बाबा मैले दोलखामा तपाई जस्ता सयौं बाबाहरुलाई सेवा गरेकी छु । मेरो दोलखा आउने निर्णयमा साथ दिनु भएकोमा आज तपाईप्रती गर्व महशुस भएको छ बाबा ।
डाक्टर नै हुन्छु भनेर अठोट गर्दाको मेरो आटंलाई आज अर्को जोसले भरिदिएको छ । सेवाभावना जागेर आएको छ । मलाई दुगृममा सेवा रहर छ बाबा । हजुरले मलाई संधै साथ दिनुहुन्छ भन्नेमा मलाई कतै संका छैन ।
स्रोतसाधनको कमी, बुझाउन खोजेको कुरा बिरामीले राम्रोसँग नबुझिदिने, जस्तो रोगमा पनि डाक्टरले निको पार्नैपर्छ नभए डाक्टरको लापरवाही भन्ने मनस्थिती भने चुनौतीपूर्ण छ । तर, बिरामीलाई बुझाउन सके यी पनि खासै ठुला समस्या त होइनन् ।
हामी जस्ता एमबिबिएस मात्र पढेको डाक्टरले नै दुर्गममा बस्न नखोजे त्यहाँ कसले सेवा दिने ?
डा आस्था रेग्मी
दोलखा जिल्ला अस्पताल
दोलखा जिल्ला अस्पताल
साभार www.swasthyakhabar.com बाट