Latest Post

सुत्नुअघि के खानुहुँदैन ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर २ बिहीबार प्रकाशित

चकलेट
चकलेटमा क्याफिन हुन्छ । कालो खालको चकलेटमा क्याफिनको मात्रा अझ बढी हुन्छ । क्याफिनजन्य चिज खानाले मानिस थकानरहित हुन्छ र शरीरमा पाचनसम्बन्धी रासायनक्रिया तीव्र बन्छ । साथै, यसले शरीरलाई डिहाइड्रेट गराउँछ । सुत्नुअघि मानिसको शरीरमा यस्ता परिवर्तन आउनु ठीक मानिँदैन ।
मसलायुक्त खाना
सुतेको बेला मानिसको पाचन प्रक्रिया ढिलो सञ्चालनमा आउँछ । मसलायुक्त खाना पचाउन बढी समय लाग्छ । यस्तो खाना खाइयो भने गहिरो निद्रा लाग्दैन । यसले शरीरको तापक्रमसमेत घटाउने भएकाले मिठो निद्राका लागि यो राम्रो मानिँदैन । यस्तो खाना खाएर सुत्दा ऐँठन हुने सम्भावनासमेत भएको मन्ट्रियल विश्वविद्यालयले गरेको एउटा अनुसन्धानले देखाएको छ ।

कफी
खाना खाइसकेर सुत्नुअघि कफी खाने बानी राम्रो होइन । सुत्ने बेलामा कफी खाइयो भने निद्रा पर्न अप्ठेरो हुन्छ ।

मदिरा
मदिराजन्य पदार्थ पिउनाले मिठो निद्रा पर्ने आम मान्यता छ । तर, मिठो निद्रा पर्नुको अर्थ रातमा पटक–पटक नबिउँझनु पनि हो । बियर, रक्सी, वाइन आदि खाएर सुत्दा सुरुमा गहिरो निदाइए पनि रातमा पटक–पटक उठ्नुपर्छ ।

रातो मासु
बदाम, दूध, चिज आदिमा प्रोटिनको मात्रा सन्तुलित मात्रामा पाइन्छ, जसले मिठो निद्रा लगाउँछ । रातो मासुमा प्रोटिन उच्च मात्रामा पाइन्छ । यसले अनिद्राको समस्या उत्पन्न गराउँछ । किनभने, प्रोटिन पचाउन शरीरलाई अप्ठेरो हुन्छ । साथै, प्रोटिनमा पाइने एमिनो एसिडले दिमागलाई चनाखो राख्छ र निद्रा पर्न दिँदैन ।

केही तरकारी
फलफूल र तरकारी स्वास्थ्यका लागि राम्रो हो । यसले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने गर्छ । तर, कुनै–कुनै फलफूल र तरकारी यस्ता हुन्छन्, जसलाई सुत्नुअघि खायो भने निद्रा पर्दैन । काउली, ब्रोकाउलीलगायत तरकारीमा पाइने तŒवले दिमागमा उत्पन्न हुने ट्राइप्टोपान नामक एमिनो एसिडको प्रभावलाई कमजोर बनाइदिन्छ । ट्राइप्टोपान मिठो निद्रा लगाउन आवश्यक हुन्छ । त्यस्तै, बन्दाकोबी, कोसे तरकारी, सेतो च्याउ, गोलभेँडालगायत तरकारी पनि सुत्नुअघि भरिसक्के खानु हुँदैन ।

मिठाई
सुत्नुअघि मिठाई, केक, चकलेट, कुकिज अथवा आइसक्रिम खाने बानी कसैकसैमा हुन्छ । यसले मनलाई आनन्द त देला, तर मिठो निद्रा दिँदैन । यस्ता खाद्य पदार्थमा चिनीको मात्रा उच्च हुन्छ, जसलाई राती सुत्ने बेला नियमित खानाले निद्रा पर्दैन ।

जंक फुड
खाना बनाउन अल्छी मानेर राती जंक फुड खाएर सुत्नेको संख्या बढिरहेको छ । क्यान्डी बार, पोट्याटो चिप्स, चाउचाउलगायत फास्ट फुडलाई डिनरका रूपमा खानेको संख्या बढिरहेको छ । तर, यस्ता खानामा फ्याट र सुगरको मात्रा बढी हुन्छ, जसले निद्रा उत्पन्न गराउने हार्मोन काट्ने काम गर्छ ।
राती यस्ता खाना खानाले मोटाउने समस्या पनि हुन्छ । किनकि, यस्ता खाना खाएपछि शारीरिक श्रम गर्ने खालको परिस्थिति चाहिन्छ । राती यस्ता खाना खाएर सुत्ने गर्नाले शरीरमा बोसोको मात्रा बढ्न पुग्छ ।

- साभार www.swasthyakhabar.com बाट

शरीरलाई न्यानो राख्ने मसला (भान्सामै औषधी)
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर ३ शुक्रबार प्रकाशित 


जिरा
जिराले शरीरलाई भित्रैदेखि तातो राख्ने भएकाले जिराले दाल झान्ने, यसलाई तरकारी र सुपमा हालेर पकाउने आदि गर्नुपर्छ ।

अदुवा
अदुवाले पनि शरीरको चिसोपन हटाउने भएकाले यसलाई चियामा मिसाएर, तरकारी र चटनीमा हालेर खानुपर्छ ।

दालचिनी
यसले खानाको स्वादमात्रै बढाउँदैन, शरीरको तापक्रम पनि बढाउने काम गर्छ । साथै, यसले रक्तसञ्चारलाई सुचारु र नियन्त्रण गर्छ । चिया र तरकारीमा दालचिनी हालेर यसको मज्जा लिन सकिन्छ ।

मरिच
मरिचले शरीरलाई न्यानो राख्ने र विभिन्न संक्रमणबाट जोगाउने गर्छ । यसलाई तरकरी र सलादमा मिसाएर जाडोभरि नियमित खाने गर्नुपर्छ ।

अलैँची
यसले शरीरलाई न्यानो राख्ने र शरीरलाई रोगसँग लड्न योग्य बनाउने काम गर्छ । यसलाई तरकारी, चिया, अचार आदिमा मिसाएर खान सकिन्छ ।

- साभार www.swasthyakhabar.com बाट


छोरीले आफ्नो बाबालाई दिइन् धन्यवाद, भन्छिन् संस्कार पनि सिक्दै छु
डा आस्था रेग्मी, दोलखा जिल्ला अस्पताल २०७३ मङ्सिर १ बुधबार प्रकाशित 
कतै पढेको थिँए,  खुसी हुनु ठीक कि सुखी हुनु ?
मलाई लाग्छ पक्कै खुसी हुनु ठीक । किनकी तपाई सुखी नभए पनि सन्तुष्ट भए खुसी हुन सक्नुहुन्छ । त्यसैले म दुर्गममा सेवा गर्न पाउँदा खुसी छु । आफ्नो सन्तानलाई अबोध देख्ने एउटा बाबुको मनले आफ्नी छोरी टाढा काम गर्न गएको पक्कै स्विकार गर्दैन होला । तर म दोलखा जाने निर्णय बाबाले सहजै स्विकार गर्नुभएको थियो ।
बाबाले डाक्टर नै बन्न दबाब कहिले दिनुभएन । ठुलो मान्छे बन्नुपर्छ भन्ने सोच भने कालीलो मस्तिष्कमै थियो । जुन बेला डाक्टरनै बन्छु भन्ने लाग्थ्यो, त्यती बेला ठुलो मान्छे बन्ने बाहेक केही उद्धेश्य थिएन । मलाई लाग्थ्यो ठुलो मान्छे बन्न मात्र डाक्टर हुने हो ।
आज डाक्टर बनेर मनन गर्दा लाग्यो खुसी हुन पो डाक्टर बन्नु पर्ने रहेछ ।  मेरो डाक्टर बन्ने सपना पनि पुरा भएको छ  । गाँउबस्तीमा पुगेर सेवा गर्न पाँउदा निकै सन्तुष्ट छु बाबा ।
एमबिबिएस पढ्दा कहिले काँही पढाई छाडौं कि जस्तो लाग्थ्यो । कलेजको माहोल नै यस्तो थियो कि मलाई आफ्नो अस्तित्व खोज्न पनि गाह्रो हुन्थ्यो । कलेजको त्यस्तो माहोललाई पन्छाउँदै मेहनतका साथ पढें । राम्रो नम्बर ल्याएर एमबिबिएस पास गरियो ।
एमबिबिएस भर्ना हुँदा मनमा जुन उत्साह थियो । पढ्दै जाँदा त्यहाँको माहोलले उत्साह पनि कम हुँदै गएको थियो ।
जब इन्टर्नसिप सुरु भयो । बल्ल डाक्टरी पेशाको खास महत्व बुझ्न पाएँ । पेशाप्रती सन्तुष्टी महसुस भयो । तर, पत्रिकामा डाक्टरले पिटाई खाएका समाचार आउँदा डर पनि लाग्थ्यो । जब इन्टर्नसिप सकेर दोलखा आएँ त्यो डर पनि रहेन । दोलखा आउनु मेरो बाध्यता थिएन । सेवा गर्ने रहर मात्र हो ।
बाबा, आज तपाईकि छोरी दोलखामा सेवा गर्दा निकै खुसी छ । चार चक्की औषधिले निको हुने समस्या पनि यहाँका बासिन्दा वषौं पाल्न बाध्य रहेछन् । महिलाहरु पुरुषसँग उपचार गर्न लजाउने रहेछन् । तर आज महिला डाक्टर पाउँदा घण्टौं हिंडेर पनि उपचार गर्न आउन थालेका छन् । तपाई छोरीसँग उपचार गर्न आउनेको कम्ता भिड हुँदैन । मेरो ज्ञानले धेरै मानिसले नयाँ जिवन पाएका छन् । बिरामी सञ्चो हुने आशमा मुस्कुराउँदा कम्ती आनन्द आउदैन बाबा ।
हाम्रो सेवाबाट धेरै बिरामी खुसी छन् । सबै रोग त हामी निको पार्न नसकौंला तर ज्ञानले भ्याएसम्म उपचार गर्न पछि परेका छैनौं बाबा । समयले हामीलाई रोक्न सकेको छैन । बिरामीको मुस्कानले उर्जा थपेको छ । दुर्गममा सेवा गर्नु हो मजा नै बेग्लै । हामीले जोखिम उठाएर भएपनि शल्यक्रिया पनि गरेका छौं । यसले धेरै मानिसको ज्यान जोगाएको छ । चाहेर पनि उपचारका लागि शहर जान नसक्ने बिरामीका लागि हाम्रो सेवा साच्चीकै अमुल्य रहेछ । मैले पेशागत भुमिका मात्र निर्वाह गरे जस्तो महसुस भएको छैन । डाक्टरी त ठुलो सेवा पनि रहेछ । पेशा र सेवा दुबै एकैपटक ।
शहरका ठुला अस्पतालमा इन्टर्न गर्दा डरले हातहरु काम्ने गर्थे ।  किताब पल्टाएर होस् वा गुरुलाई फोन गरेर होस् उपचार गर्न पछि पर्दैनौं । सानो उपचारका लागि हामीले रिफर गर्दा कतिपय बिरामी रोग पाल्न बाध्य हुनुपर्छ । शहर जान नसक्ने बिरामीका लागि हरसम्भव उपचारको कोशिसमा जुटेका छौं  । सोधेर वा पढेर भएपनि उपचार गर्दा मलाई कसले के भन्ला भन्दा पनि मैले उपचार नगरे बिरामीको आत्माले के भन्ला भन्ने महशुस हुन्छ । शहरमा त घडीको सुई हेरेर उपचार गर्ने बानी थियो । यहाँ त बिरामीका कथा सुन्दा दिन बितेको पत्तो हुँदैन । रुघाखोकी लाग्दा पनि बिरामी घण्टौं हिँडेर इमर्जेन्सीमा आउँछन् । उनीहरुको सानो समस्याको पनि उपचार गर्न पाँउदाको सन्तुष्टी नै बेग्लै ।
कतिपय बिरामीहरु त घरमा सानो पुजापाठ हुँदा पनि निम्ता दिएर जानुहुन्छ । शहरमा त धन्यवाद भन्न पनि गाहे मान्ने । एकपटक एउटी ८० बर्ष कि आमा ले आफ्नो घरमा नातिको पास्नीमा आउने निम्तो दिएर जानु भयो । उहाँको त्यो निमन्त्रणाले मलाई झन् जिम्मेवार र उर्जावान बनायो ।
कति उदार छ यहाँका मानिसको मन । म पनि दोलखाका मानिस जस्तै उदार बन्न सिक्दैछु बाबा । मैले यहाँ उपचारमा दक्ष बन्न मात्र होइन संस्कार पनि सिक्न पाएकी छु । आफ्नो पेशाको सम्मानबोध भएको छ । बाबाले सानोमा ठुलो मान्छे बन्नु पर्छ भनेको सम्झने गरेको छु । आज बाबाले भनेजस्तै ठुलो मान्छे भएको महशुस भएको छ । यो मेरो घमन्ड हैन ,आफ्नो पेशाले दिएको आत्मसन्तुष्टी हो।
बाबा मैले दोलखामा तपाई जस्ता सयौं बाबाहरुलाई सेवा गरेकी छु । मेरो दोलखा आउने निर्णयमा साथ दिनु भएकोमा आज तपाईप्रती गर्व महशुस भएको छ बाबा । 
डाक्टर नै हुन्छु भनेर अठोट गर्दाको मेरो आटंलाई आज अर्को जोसले भरिदिएको छ । सेवाभावना जागेर आएको छ । मलाई दुगृममा सेवा रहर छ बाबा । हजुरले मलाई संधै साथ दिनुहुन्छ भन्नेमा मलाई कतै संका छैन ।
स्रोतसाधनको कमी, बुझाउन खोजेको कुरा बिरामीले राम्रोसँग नबुझिदिने, जस्तो रोगमा पनि डाक्टरले निको पार्नैपर्छ नभए डाक्टरको लापरवाही भन्ने मनस्थिती भने चुनौतीपूर्ण छ । तर, बिरामीलाई बुझाउन सके यी पनि खासै ठुला समस्या त होइनन् ।
हामी जस्ता एमबिबिएस मात्र पढेको डाक्टरले नै दुर्गममा बस्न नखोजे त्यहाँ कसले सेवा दिने ?
डा आस्था रेग्मी
दोलखा जिल्ला अस्पताल
साभार www.swasthyakhabar.com बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.