नवलपुर टेलरको सफलता

नवलपुर टेलरको सफलता 

लक्ष्मीप्रसाद पंगेनी
हरेक मानिस आफ्नो जीवनमा केही न केही काम गरि सफलता हासिल गर्न चाहन्छ । सफलता नचाहने मानिस यो संसारमा सायद कमै होलान् । त्यसैले मानिसहरु कसैले कलाबाट,कसैले शिक्षाबाट,कसैले समाजसेवाबाट सफलता खोजिरहेका हुन्छन् भने कसैले उद्योग वा व्यापार व्यावसायवाट । के सबैले सोचे र चाहे अनुसार सफलता प्राप्त गर्न सक्छन् त ? पक्कै सक्दैनन् । भनिन्छ,जीवनमा सफलता प्राप्त गर्न लामो संघर्ष अनि मिहिनेत गर्नु पर्छ । रातारात कोही व्यक्ति पनि सफल हुँदैन । यसै सन्दर्भमा संस्कृतमा एउटा भनाई छ–
उद्यमेन सिद्ययन्ति  कारणी न मनोरथै
नहीः सुतस्य सिंहस्यः प्रवेसन्ति मुखे मृगा ः
अर्थात कुनै पनि काम उद्योग (कर्म) गरेर मात्र पुरा हुन्छ ,मनमा म यो काम गर्छु भनेर सोच बनाएर मात्र हुदैन । सिंहको मुखमा पनि मृग आफै  आएर प्रवेश  गर्दैन,सिंह पनि शिकार गर्न जानु पर्दछ । तर आजभोली अधिकांस मानिसहरु छोटो समयमै सफलता प्राप्त गर्न भौतारिरएका देखिन्छन् । मिहिनेत,लगनशीलता तथा इमानदारिताको खडेरी परिरहेको अहिलेको अवस्थामा कावासोती–१६ डण्डा ,नवलपरासीका ४४ वर्षिय शिवराज थनेतले करिव २२ वर्ष लामो अथक प्रयासपछि हाल उनी स्वरोजगार त भएका छन् नै,यसको अलवा उनले ८ जना अन्य युवाहरुलाई समेत रोजगार दिंदै सफलता पुर्वक आफ्नो व्यवसाय अघि बढाइरहेका छन् । कुनै पनि पेशा व्यवसाय संचालन गर्दा लगनशीलता,इमानदारिता तथा विश्वसनीयता पहिलो सर्त हुने शिवराज बताउँछन् ।
वि.सं.२०४६ सालमा एसएलसी उतिर्ण गरि क्याम्पस समेत भर्ना गर्न भ्याएका शिवराज उच्च शिक्षा अध्ययन गर्ने उनको अभिलाषा भने गरिवीको कारण पुरा हुन सकेन । त्यसपछि उनले गाउँमै ज्याला मजदुरी गर्दै सिलाई कटाई सिक्न थाले । करिब ५–६ महिना सिलाइ कटाई सिकेपछि ऋण धन गरि उनले गाउमै एउटा कपडा सिलाउने दोकान खोले । सानो लगानीबाट शुरु गरेको उनको व्यवसाय राम्रै चल्न थाल्यो । उनले बजारमा गएर आफ्नो व्यवसाय विस्तार गर्न चाहन्थे तर उनीसंग प्रयाप्त पूँजी थिएन । यसैक्रममा भारत गई केही धन कमाई ल्याएर आफ्नो व्यवसायलाई बजारमा विस्तार गर्ने सोच बनाउदै २०४८ सालतिर साथीहरुसंग उनी भारतको बम्बई हानिए । बम्बईमा उनले एक उद्योगमा काम पाए । करिव २ वर्षको भारत बसाईपछि २०५० सालमा केही धन लिएर उनी नेपाल फर्किए । नेपाल फर्किए लगत्तै शिवराजले कावासोती बजारको इन्द्रचोक भन्ने ठाउँमा एउटा कपडा सिलाउने पसलका साथै सिलाई कटाई तालिम केन्द्र खोले । केही वर्षसम्म उनले गाउँका युवाहरुलाई सिलाई कटाई तालिम दिए । पछि उनले तालिम दिने काम बन्द गरि भारतबाट कपडा सिलाउने केही कालिगढ़हरु झिकाई कपडा सिलाउने काम मात्र गर्न थाले ।  ग्राहकहरुले ल्याएका कपडा मात्र सिलाउने शिवराजले ग्राहकको माग अनुसार आफ्नै पसलमा थान कपडा पनि थपे । महिला पुरुष दुबैको कपडा सिलाउने गरेकोमा कालिगढ़को अभावमा आफ्नो व्यवसाय विशिष्टीकरण तिर लैजाने सोच बनाए । त्यसपछि उनले पुरुषका कपडा मात्र सिलाउने गरि आफ्नो व्यवसाय विस्तार गरे ।
आज भन्दा करिव २२ वर्ष अगाडी ८०–९० हजार रुपैयाँको लगानीमा शुरु गरेको व्यवसाय हाल करिब ६० लाख पुगेको शिवराज बताउँछन् । उनले यत्रो पैसा एकैचोटी लगानी गरेका भने होइनन् । काम गर्ने दौरानमा समूह ,सहकारी,तथा बैंक मार्फत ऋण लिदै उनले आफ्नो व्यवसाय विस्तार गरेका हुन् । पहिलो पटक लिएको ऋण किस्ताबन्दीमा तिर्ने र ऋण चुक्ता भए पछि फेरी केही ऋणको मात्रा बढाउदै व्यवसाय विस्तार गरेको उनी बताउँछन् । हाल उनको कपडा सिलाउने कारखानामा सर्ट सिलाउने ३ जना,पाइन्ट सिलाउने ३ जना र कोट सिलाउने २ जना गरि ८ जना कपडा सिलाउने कालिगढ़हरु छन् । ती कपडा सिलाउने कालिगढ़हरुले खर्च कटाएर मासिक ३० हजार भन्दा बढी कमाउने शिवराजले बताए । अझ दशैँ तिहार चाड पर्व लगायत विवाहको मौसममा उनीहरुको आम्दानी त्यो भन्दा नि बढी हुने उनको भनाई छ । उनी भन्छन, ’सबै भन्दा कोटम्यानको बढी आम्दानी हुन्छ । कोटम्यानले एउटै कोट सिलाएको एक हजार रुपैयाँ लिन्छन् । एउटा कोटम्यानले दिनको २ वटा सम्म कोट सिलाउन सक्छ ।’
आफुले भने पसलको घर भाडा,बिजुली तथा पानीको खर्च कटाएर मासिक औसत ५० हजार आम्दानी गर्ने उनले बताए । उनी भन्छन्, ’जति काम आयो उती आम्दानी हुन्छ । काम आए मेरो पनि आम्दानी बढ्छ ,कालिगढ़हरुको पनि बढ्छ । हामी कहाँ मासिक तलव भन्ने हुदैन । पिसको हिसाव हुन्छ । जसले जति पिस सिलाउँछ उसको तलव त्यही अनुसार हुन्छ । एउटा सर्ट सिलाउने कालिगढ़ले एक दिनमा १० देखि १२ वटा सम्म सर्ट सिलाउँछ । उसले एउटा सर्ट सिलाए वापत एक सय रुपैयाँ पाउँछ । यहाँ ठग्ने भन्ने नै हुदैन । पिसको हिसाव भएपछि ठग्ने कुरै आउदैन ।’ विभिन्न चाड पर्वमा थप अतिरिक्त रकम बोनस स्वरूप कालिगढ़हरुलाई दिने र सामान्य विरामी पर्दा औषधी उपचार आफैले गरिदिने गरेको उनले बताए ।’ कामदारहरु कहाँका छन् र व्यवसायको मुख्य समस्या के छ ? ’भन्ने प्रश्नमा उनले यसो भने–पहिला भारत विहारबाट कालिगढ़हरु झिकाउनु पथ्र्याे तर अहिले नेपालकै पूर्वी जिल्ला बारा पर्साका कालिगढ़हरु छन् । यहाँका स्थानीय युवाहरु कपडा सिलाउने काममा विश्वास नगर्ने,सिप भएकाहरु आफैले व्यवसाय संचालन गर्ने वा विदेश जान रुचाउने हुनाले कालिगढ़हरु टाढाबाट मगाउनु परेको छ । मेरो व्यवसायको मुख्य समस्या भनेको कालिगढ़ र विद्युत नै हो,कामको होइन । कालिगढ़ घर गएको समयमा र बिरामी परेको बेलामा ग्राहकलाई भनेको बेलामा सेवा दिन सकिदैन । आएको काम पनि लिन सकिदैन । अझ नियमित विद्युत नहुदा निकै सास्ती खेप्नु परेको छ । दिनमै १४–१५ घण्टा लोडसेडिङ हुन्छ । विद्युतको समय तालिका अनुसार काम गर्नु पर्ने हुन्छ । कहिले त राति सुत्नै पाइँदैन । जसरी भए पनि ग्राहकलाई तोकिएकै मितिमा कपडा सिलाएर दिनु पर्छ । फेरी गुडविलको कुरा छ । म भनेर ग्राहक आइसकेपछि तोकिएकेकै मितिमा सेवा दिनु मेरो कर्तव्य हो ’
मिठो बोली,मिलनसार तथा कसैसंग नरिसाउने स्वभाव भएका शिवराज आफ्नो व्यवसाय अझ विस्तार गरि थप १२–१५जनालाई रोजगार दिने योजनामा छन् । कावासोतिकै एउटा बैंकमा उनले आफ्नो व्यवसाय विस्तार सहितको प्रस्ताव पेश गरेको र बैंकले प्रस्ताव स्वीकृत गर्ने बित्तिकै गार्मेन्ट उद्योग संचालन गरी तयारी पोशाक उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । हाल संचालनमा रहेको उनको टेरलिंग सेन्टर काठमाडौमां रहेका नाम चलेका टेररिंग सेन्टरहरुकै दाँजोमा रहेको र सेवा तथा गुणस्तरमा कुनै कम्प्रोमाइज नगरिने दावी समेत उनले गरे । पेशा व्यवसायमा सफलता पाउन के गर्नु पर्दछ र नेपालमा जागिर पाइदैन भन्दै त्यसै खाली बस्ने वा विदेश जान रुचाउनेहरुलाई के सुझाब छ ? भन्ने प्रश्नमा उनी भन्छन्,’कुनै पनि पेशा व्यवसायको सफलताको राज भनेको पेशा प्रतिको विश्वास,हिम्मत र लगनशीलता नै हो । मेरो यो पेशामा पनि धेरै बाधा अबरोधहरु नआएका होइनन् तर मैले यो पेशामा भविस्य देखेको थिएँ । कुनै दिन अवस्य सफल भईन्छ भन्ने आत्मविश्वास थियो । इमान्दारपूर्वक काम गर्दै गएँ अहिले यो अवस्थामा आइपुगेको छु । कुनै पनि पेशा व्यवसाय गर्दा आत्तिनु हँुदैन । कुनै पनि काम सानो ठुलो भन्ने हुदैन । आजभोलिका युवाहरुमा धैर्यता छैन । उनीहरु छिट्टै धन कमाउन चाहन्छन् । विदेश जान लाखौ खर्च गर्न तयार हुनेले यहाँ त्यही विदेश जाने पैसाले सानो तिनो व्यवसाय शुरु गर्न हिम्मत गर्न सक्दैनन् । फेरी विदेश जाने भन्दै बर्षौ खाली बस्छन् तर सीप सिकी कुनै इलम गर्न खोज्दैनन् । सीप सिक्ने हो भने कोही पनि विदेश जानु पर्दैन । स्वदेशमै दाम र नाम दुवै कमाउन सकिन्छ ।’
लामो समयदेखि एउटै पेशामा निरन्तर लागिरहेका,स्वरोजगार बन्दै अरुलाई पनि रोजगार दिएका तथा आफ्नो व्यवसायलाई अझ विस्तार गरि थप रोजगारीका अवसरहरु सृजना गर्ने लक्ष्य सहित अघि बढेका लगनशील ,मिहिनेती ,आत्मविश्वासी तथा कर्मठ व्यवसायी तथा आमनेपाली युवाहरुका प्रेरणाका श्रोत शिवाराज थनेतको आगामी योजनाहरु सफल होओउन,उनले चालेका हरेक कदमले सफलताको शिखर स्पर्श गर्न सकोस शुभकामना ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.