तिमीले मलाई टोकिरहेकी त छैनौ कतै ?

जीवन ऐजन ऐजन

मलाई शङ्कर लामिछाने मन पर्दैन ।खतरा खतरा निबन्ध लेख्छन् उनी ।त्यो पनि कहीँ लेख्ने जिनिस हो ?

'जीवन एक प्राध्यापक' पढियो क्लासमा ।गज्जप निबन्ध।कुकुरबाट पनि धेरै ज्ञान लिन सकिन्छ भन्ने भाव।लामिछानेले अन्तिममा कुकुरलाई गुरु बनाएर छोडे।

सरले सोध्नुभयो-यो निबन्धबाट के बुझ्यौ ?
मैले भनेँ- गुरुहरू सबै कुकुर हुन्।
सबै हाँस्यौँ।
मैले दिन खोजेको खास उत्तर सबैको अनुहारमा देख्न चाहन्थेँ ।देखेँ पनि।

अँ हाँस्यौँ।
म पनि तपाईँ जस्तै थिएं बच्चामा ।चकचके ।छु ।हुनेछु सायद।चकचकको दवाई चड्कन।चड्कनको प्रतिकृया रुनु हो । म चड्कन खान्थेँ।रुन्थेँ।अस्वाभाविक तरिकाले रुन्थेँ।
आमाले भन्नुहुन्थ्यो -सत्तुर नहँसा धेरै।

मुलाङ ,
म रोए ऊ हाँस्ने रे।म रुदा जो हाँस्छ त्यो शत्रु भन्ने कुरा बुझेँ।बच्चैमा कण्ठ गरेँ शत्रुको परिभाषा त।

तर अझै थाहा भएन ती शत्रु को थिए ।को हुन् ।छिमेकमा त सबै आफ्ना थिए त्यो त थाहा छ । आमाको  'सत्तुर नहँसा धेरै' पनि गिरिजाको 'ग्राइण्डडिजाइनर'भन्दा कम थिएन।

जो कोहीबाट पनि ज्ञान लिन सकिन्छ रे।म ल्वाँठबाट पनि लिनुस्।प्रण गर्नुस्-यो ल्वाँठ जस्तो हुने छैन म भनेर ।मलाई मजस्तै अर्को मन पर्दैन।

आश्रम अगाडि अरिङ्गालको गोलो छ ।बच्चालाई टोक्ने सम्भावना ज्यादा रहन्छ।गुरुले भनेअनुरुप बोरामा खुसुक्क गोलो राख्ने र खोल्सामा फालिदिने काम गर्ने भइयो।काम त एउटा सलाईको काँटीले तमाम गर्न सकिन्थ्यो ।किन ज्यान लिनु अर्काको ?

अँ साँझपख ।
म बोरो लिएर रुखमा चढेँ।बोरामा राख्ने भनेर गोलो।तर बोरामा आधामात्र गयो ,आधा गएन गोलो ।अरिङ्गाल उडे ।अब टोके भनेर लेख्नु आवश्यक ठान्दिन म ।

म ओर्लिएं।रिस उठ्यो।मुलाङ आगो लगाइदिएको भए हुने रै छ ।अर्काको ज्यान जोगाउनु परेको मलाई।

कतै हाम्रो प्रेममा पनि यस्तै भएको त छैन ? म तिम्रो ज्यान जोगाउन खोजिरहेछु ।तिमीले मलाई टोकिरहेकी त छैनौ कतै ? बिचार गर त एकपटक ।

अँ जताबाट पनि जे पनि ज्ञान लिन सकिन्छ रे ।जे छ त्यही ज्ञान लिनु ।मलाई टाइप गर्न झ्याउ लाग्दैन र ?

-कृष्णप्रसाद अर्याल

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.